News Portal

कास्कीमा तिहार लक्षित गर्दै प्रशासनबाट यस्तो आदेश जारी

साथीन्यूज संवाददाता
३५५ पटक

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार र छठ पर्वलाई लक्षित गर्दै आइतबार आदेशात्मक सूचना जारी गरेको छ ।

कोभिड – १९ को संक्रमण दर अपेक्षित रूपमा नघटेको र संक्रमण बढ्ने जोखिम कायमै रहेको भन्दै प्रशासनले नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो, नाचगान जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न भनेको छ ।

साथै देउसी भैलोका कार्यक्रम गर्दा सार्वजनिक यातायात र जन जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न गराउन प्रशासनले आदेश गरेको छ ।

प्रशासनले आइतबार एक सूचना जारी गर्दै पटका, आतस बाजी, झिर झिरे, भुइँचम्पा जस्ता विस्फोटक जन्य पदार्थको प्रयोग र तिनको ओसार पसारमा पूर्ण रूपमा रोक लगाएको जनाएको छ ।

प्रशासनले मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, समाजमा अशान्ति हुने भिडभाडजन्य गतिविधि तथा अशोभनीय क्रियाकलाप नगर्न नगराउन अनुरोध समेत गरेको छ ।

चाडबाडमा मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी पूजा पाठ गर्न प्रशासनले आग्रह गरेको छ ।

जारी आदेश उल्लङ्घन भएमा कानुन बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्