पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसबाट बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज अपराह्न ४ः१५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका दुबैले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । यसअघि उनीहरुले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ता लिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै ऋषिराम सापकोटाले आफ्नो कारणले गठबन्धन धरापमा पर्न लागेपछि उम्मेदवारी फिर्ता लिएको बताए । उनले भने,‘मैले सांकेतिक विद्रोह स्वरुप उम्मेदवारी दिएको थिएँ तर मान्छे परिस्थितिको गुलाम हुन्छ । मेरो कारणले परिस्थिति बिग्रने देखेपछि पार्टीको ईमान्दार कार्यकर्ताको नाताले उम्मेदवारी फिर्ता लिएँ ।’
उम्मेदवारी फिर्ता लिएका अर्का नेता नन्दप्रसाद तिवारीले पनि आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए । ‘अघिल्लो ओली सरकारले संविधान मास्न खोजे, संसदमाथि प्रहार गरे । त्यसकाबिरुद्ध मुलुकको आवश्यक्ता अनुसार गठबन्धन भयो । अहिलेपनि त्यसको आवश्यक्ता महशुष गर्दै पार्टीको निर्णय र निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएँ’ उनले भने ।