पोखरा, ११ कात्तिक/ पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना प्रकासन गरेको छ । शुक्रबार सूचना जारी गरी खोलाघर मिचेर बनेका स्थायी÷अस्थायी सबै संरचना हटाउन निर्देशन दिए छ । सूचनामा ३५ दिन भित्र पूर्णरुपमा हटाउनु पर्ने र नहाएमा महानगरपालिका आफैले हटाउने उल्लेख छ । महानगरले हटाउनु परेमा लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले तिर्नु पर्ने उल्लेख छ ।
फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक समितिले केही दिन पहिले प्रतिवेदन महानगरपालिकालाई बुझाइएको थियो । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका थिए ।
खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका १६० संरचनाहरु निर्माण गरेको प्रतिबेदनमा छ । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको छ । खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएका छन् । फिर्केलाई व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा समावेश छ ।
पोखरा महानगरपालिकाको वडा नम्बर १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइए समितिका संयोजक वासुदेब पौडेलले बताए । खोलाको उचाइ ४ देखी ९ मिटरसम्म गहिरो रहेको पाइएको छ ।
फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरि ५८८ सिमा स्तम्भहरु गाडिएका छन् । प्रतिवेदन अनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरु रहेका छन् ।
संस्थागत फिर्के मिच्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन, लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज मन्दिर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाज लगाएतका रहेको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिबेदनमा फिर्के तथा बुलौदी खोला हुदैँ फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहोर तथा सिसा र बिषाक्त रसायनका कारण प्राणि जिवन संकटमा पर्नुका साथै मानव जिवनमा समेत घातक प्रकृतिका जटिल रोगहरुको जोखिम बढ्ने गरि वातावरणिय प्रदुषण भैरहेको प्रतिवेदनमा उल्लेख छ ।
महानगरले संरचना हटाएर विभिन्न स्थानमा पार्कहरु निर्माण गर्ने, आवतजावतका लागि सहज पहुँचमार्गहरु विस्तार गर्न, ठाउँठाँउमा चेकड्यामहरु निर्माण गर्न, खोला आसपासमा ग्रिन जोनहरु विकास गरि पैदल तथा साईकल ट्रयाकहरु निर्माण गर्ने योजना छ ।