नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयूजीसिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो ।
सो सिम मार्फत आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एक आपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात एसएमएस समेत पठाउन सक्नेछन् ।
यी सुविधाप्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकाय मार्फत सरकारले व्यहोर्ने छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थाननिःशुल्क पाठशाला सीयूजी सिमकार्ड लिन सक्नेछन् ।
प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइलनम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै प्रयोग गरिरहेको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सीयूजीमा आबद्ध गर्न पनि सकिने छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।