News Portal

इक्यान कास्कीले असार २४ र २५ गते पोखरामा सातौं बृहत् शैक्षिक मेला आयोजना गर्ने

साथीन्यूज
४३१ पटक

पाेखरा, २१ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असार २४ र २५ गते पोखरा सभागृहमा सातौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको छ ।

मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर संघले विदेशमा अध्ययन गर्न चाहने आम नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावकलाई सहि परामर्श दिन सातौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्न लागिएकाे जानकारी दिएको हो ।

विश्व अहिले ग्लोबल भिलेजको रुपमा विकास भईरहेको छ। विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा सहि सूचना दिईनु पर्छ भन्ने संघको मान्यता रहेको इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले बताए ।

गण्डकी प्रदेशको ठूलो शैक्षिक मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु रहनेछन् । अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, जापान, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, दक्षिण कोरीया र भारत लगायतका देशका कलेज, विश्वविद्यालयका आधिकारीक प्रतिनिधिको उपस्थिति हुने भएको छ ।

मेलालाई नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी भएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्रदान गरिएको छ ।

दुईदिने मेलामा शैक्षिक परामर्शको क्षेत्रमा लामो समय खर्चिएका अनुभवि परामर्शदाताहरुका ४० स्टल रहने मेलाका संंयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा आइकासका प्रबन्ध निर्देशक समिर थापा, कमल वराललगायतले बोलेका थिए । शैक्षिक मेला र शिक्षाका बारेमा पत्रकारले सोधेका प्रश्नहरुको जवाफ अध्यक्ष तिवारीले दिएका थिए ।

इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष शाहीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्