एसियाली विकास बैङ्कका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् । बैङ्कको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ रहेका राममूर्तिले प्रमुख आचार्यको कार्यकक्षमा भेटवार्ता गरेको पोखरा महानगरपालिका कार्यालयले जनाएको छ ।
भेटवार्ताका क्रममा राममुर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरूको बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गरें। पूर्वाधार निर्माण सहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनाहरूमा एडिबीको सहयोग रहेको थप परियोजनाहरूमा समेत सहयोग गर्न एडिबी सकारात्मक रहेको सन्देश राममुर्तिले दिएको दावी गरिएको छ ।
महानगर प्रमुख धनराज आचार्यले पोखराको पूर्वाधार सहित पर्यटन विकासका सन्दर्भमा एडिबीले गरेको सहयोग प्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाहरूको पहिचान गरिएको जनाए। पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको बताउँदै उनले दिगो पर्यटन विकास आवश्यक रहेको बताए।
एडिबीको सहयोगमा हाल ठुलो प्रोजेक्टको रूपमा पोखरा मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ भने, पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ वटा परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ ।
प्रमुख आचार्यलाई राममुर्तिले एडिबीको मुख्यालय मनिला भ्रमणको निम्तो समेत दिएको बताइएको छ।