
पोखरा, १ भदौ ।
गण्डकी प्रदेशमा शैक्षिक प्रणाली कार्याशाला (आइल्याब) नेपाल कार्यक्रम अन्तरगत करियर बुथ स्थापना हुने भएको छ ।
प्रदेशका १० स्थानमा कार्यान्वयन र परीक्षणको रुपमा करियर बुथ स्थापनाका लागि छनोट गरिएको छ ।
बुथ संचालनका लगि छनोट भएका कर्मचारीहरुका लागि करियर बुथको मोडालिटी, संचालन र परामर्श प्रणालीवारे आइतबार पोखरामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालीमको सुद्धढिकरणका लािग आइल्याब कार्यक्रम संचालन गर्न लागिएको आइल्याब गण्डकीका संयोजक कविता तिवारी गैरेले जानकारी दिइन् ।
काठमाडौँ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिच विश्विद्यालयको साझेदारीमा आइल्याब कार्यक्रम संचालन हुनेछ । काठमाडौँ विश्वविद्यालयले आहन गरेको निवेदनको आधारमा करियर बुथको स्थापना र संचालनका विषय छटोन गरी गण्डकी प्रदेशको टिम छनोट भएको एन्बीक्यूएस परियोजना गण्डकी प्रदेशका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सीनाले जानकारी दिए ।
करियर बुथ स्थापनाका लािग गण्डकी प्रदेशका विभिन्न शैक्षिक तथा व्यवसायिक संस्थाहरुसंग समझदारी गरिएको छ । जस अन्तरगत गण्डकी प्रदेस सरकार रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिक स्याङ्जा, माछापुच्छ्रे गाँउपालिका कास्की, पोखरा प्राविधिक शिक्षालय फुलबारी पोखरा, किसान प्राविधिक शिक्षालय स्याङ्जा, उद्योग बाणिज्य महासंघ गण्डकी र पोखरा भ्याली टेक्निकल इन्स्टिच्युट रानीपौवा पोखरा रहेका छन् ।
करियर बुथहरुले स्थानीय युवालाई रोजगारी, सीपमूलक तालिम तथा करियर परामर्शमा पहुँच बढाउने अपेक्षा गरिएको व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरका कार्यकारी निर्देशक नवराज अधिकारीले जानकारी दिए । महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रमा पनि बुथ स्थापना हुने भएकाले युवाहरुले रोजगारी, सीपमूलक तालिम तथा करियर परामर्शका लागि परामर्श लिन सक्ने अधिकारीले बताए ।
पाँच प्रकृतिका व्यक्तिहरुलाई बृति बिकासका लागि आवश्यकता पहिचान गर्न बुथबाट परामर्श सेवा प्रदान गरिने सिटिइभीटी पोखरा कार्यालयका प्राविधिक अधिकृत शरद कोइरालाले जानकारी दिए ।
एकिकृत सेवा मार्फत टिभीइटी पढाइ गरेका वा नयाँ अध्ययन गर्न खोज्ने, तालिम, रोजगारी र उद्यमशीलताको खोजी गर्ने व्यक्तिहरुलाई बुथबाट सेवामा समन्वय गरिने छ । पुर्बपरामर्श सेवाको समयमा परामर्श र सेवा पश्चात परामर्श प्रदान गरि दीर्घकालीन रोजगारी प्राप्त गर्नको लागि आवश्यक सहयोग समेत प्रदान गरिने छ ।
सरकारी, गैरसरकारी र निजि क्षेत्रका सम्बन्धित संस्थाहरूसँग समन्वय गरि तालिम, सीप परीक्षण, रोजगारी, उद्यमशीलता, र सामाजिक सुरक्षा जस्ता सेवा करियर बुथ मार्फत प्राप्त गर्ने व्यवस्था मिलाइने छ ।
करियर बुथ स्थापना गरी सेवाग्राहीहरूलाई पेशागत वृति विकासका लागि आवश्यकता पहिचान गरि आवश्यक तालिम, सीप परीक्षण, रोजगार अवसर तथा उद्यमशीलता परामर्श र समन्वयात्मक सेवाहरू उपलब्ध गराई प्रदेशभित्रै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ ।