गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिए । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । एमालेका २२ र माओवादी ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गरेका हुन् ।