वलात्कारको आरोप लागेका एक प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका छन्।
महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा निलम्बित विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय प्रहरी जवान जितविक्रम दाहाल आइतबार बिहान विराटनगरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार, सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत रहदा स्थानीय एक महिलालाई वलात्कार गरेको आरोप लागेपछि उनीविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएको बताइएको छ ।
पछिल्लो समय डिप्रेसनको औषधि सेवन गर्दै आएका दाहालको शव घर नजिकै रहेको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
गत पुसदेखि निलम्बनमा परेका दाहालबिरुद्धको मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् । शवको कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।