
पोखरा ३० जेठ ।
पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम समापन गरिएको छ । वडानम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले सहभागिलाई तालिम प्राप्त गरेको प्रमाणपत्र वितरण गरेका थिए ।
तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाइनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स प्रदर्शनीमा राखिएको थियो ।
एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित गरि तलिमको आयाजना गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई सकारात्मक उर्जा थप्ने र सृजनात्मक कार्यमा प्रेरित गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रममा अनुसन्धाता डा सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गरे । तालिमले विद्यार्थीहरुमा अगाडीको शैक्षिक यात्राका लागि सहयोग पुग्ने कोइरालाले विश्वास ब्यक्त गरे ।
गण्डकी विश्वविद्यालयका डिन डाक्टर कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनुपर्ने बताए । उनले पछिल्लो पुस्तामा प्रश्न सोध्नेभन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रपृत्तिका रहेको औंल्याए ।
कार्यक्रममा पोखरा २६ की वडा सदस्य सुजता बराल सुनार, पोखरा विश्वविद्यालयका आइटी विभाग संयोजक डा राममणि अधिकारी, कन्टेन क्रियटर मिस गाइडेड नेपाल युटयुब च्यानलका अमृत थापा, लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी, पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटा, कार्यक्रम संयोजक सन्दीप पौडेल लगायतले बोलेका थिए ।