News Portal

फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने

साथीन्यूज
५५ पटक

पोखरा, २७ चैत ।

होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् ।

यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ ।

महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको थियो ।

महोत्सवका मूल संयोजक एवं आयोजक संघकाअ अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सवको अवसरमा निकालिने र्याली तथा झाँकी विशेष रहने जानकारी दिए ।

लेकसाइडका सडकका विभिन्न ठाउँमा सांस्कृतिक नाचहरु हरेक दिन प्रदर्शन गरिने जानकारी पनि उनले दिए । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने संघले जनाएको छ ।

महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् ।

व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने छन् ।

फेवा महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् ।

इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहने कार्यक्रममा जानकारी गराइयो ।

 

सो अवसरमा संघको २० औं अधिवेशनबाट निर्वाचित भई २०८१ सालको कात्तिक ७ गतेसम्म सक्रिय समितिका पदाधिकारीहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

यसअघि सम्पन्न संघका महोत्सव र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउने एरिया संयोजकहरुलाई पनि सो अवसरमा मायाको चिनो प्रदान गरियो ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारीले पनि सो अवसरमा भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्