चैत ११ गते पोखरा महानगरपालिकाले पोखरा २४ पामेबाट केहि टिपर र स्काभेटरलाई नियन्त्रणमा लियो । टिपरलाई महानगरले आफ्नै साथमा ल्यायो भने स्काभेटरको चाबि थुत्यो । पोखरा २४ पामेमा महानगरले नै आवास क्षेत्र घोषणा गरेको थियो । सोही क्षेत्रमा काम चल्दै गर्दा महानगरले फेवाताल पुर्ने काम गरेको भन्दै कारवाहि गरेको थियो । तर महानगरपालिकाले जुन स्थानमा कारवाहि गरेको थियो त्यो भने फेवाताल नभई आवास क्षेत्र रहेको खुलेको छ । त्यतिमात्र होइन उक्त स्थानमा महानगरपालिका स्वयमले माटो हालेर पुर्ने अनुमति समेत दिएको भेटिएको छ ।
aआवास क्षेत्र घोषणा गरी सकेको ठाउँमा महानगरले एक्सन लिनु अन्याय भएको स्थानीयहरुले बताएका छन् । स्थानीयहरुले आवास क्षेत्रमा रहेको आफ्नो जग्गा पुर्दा महानगरले मनलाग्दी गरेको आरोप लगाएका छन् । उनीहरुले पहिला आवास क्षेत्र घोषणा गरेको र अहिले आएर फेवाताल क्षेत्र भन्दै कारवाहि गर्नु गलत रहेको बताएका छन । जग्गा धनी टेक प्रसाद तिमिल्सिनाले आफ्नो जग्गा संरक्षण गर्न खोज्दा महानगरले लाद्ने काम गरेको बताए । उनले आफ्नो जग्गा आवास क्षेत्रमा रहेपनि महानगरले बनाएको बाटोको कारण जग्गामा पानीको ढाब हुन थालेपछि संरक्षणका लागि पुर्ने काम गरेको बताए । राज्यलाई कर तिर्दै आएपनि जग्गा संरक्षण गर्न नपाएको उनको भनाइ छ । सडक निर्माण पश्चात आफुहरुको क्षेत्रमा पिच नगरेको र सडकमा पानीको निकास नहुँदा जग्गा नै बेकामको हुने स्थिति आएको उनले सुनाए । ‘पहिला खेती हुने जग्गामा अहिले पानी मात्रै जम्न थाल्यो । यहाँ मैले खेति पनि गर्न पाइन । सडकमा पानी जानका लागि कल्भट बनाउनु पर्ने ठाउँमा हिमपाइप राखेको छ । जसले गर्दा पुरै पानी मेरो जग्गामा जम्मा भएको छ’ उनले भने, ‘हिमपाइप फुटेका कारण पानी निकासी भएको छैन् । हामीलाई पैसा धेरै भएर फालेका होइनौ पुर्न बाध्य भएका हौं ।’ जग्गा सदुपयोग गर्न नपाएको र पुर्न नदिनु अन्याय भएको र पुर्न नपाए महानगरले निकास दिनुपर्ने बताए ।
यस्तै अर्का जग्गा धनीले आवास क्षेत्र घोषणा गरिसकेपछि पनि फेवाताल भन्दै अवरोध गर्नुको पछाडी कुनै षडयन्त्र भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘यो आवास क्षेत्र हो । त्यसै मुखले फेवाताल क्षेत्र भनेर हुन्छ ? यथार्थमा जानुपर्छ । उनीहरुको के के छ, के के भन्छन् त्यो हामी बुझ्दैनौं’ उनले भने, ‘यहाँ केहि स्वार्थ राखेको मैले देख्छु । पानी जमेपछि हामीले खेती गर्नै पाएनौं खेती गर्नका लागि पनि हामीलाई पुर्नुपर्ने स्थिति छ ।’
महानगरको अनुमति विना काम भयो ः महानगर प्रवक्ता
उता पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीना भने महानगरपालिकाले कुनै अनुमति नदिएको बताए । उक्त स्थानमा वाई युके कन्ट्रक्सन प्रा.लि.ले वडाको सिफारिसलाई नै देखाएर पुर्ने काम गरेको बताए । ‘वडाले महानगरलाई सिफारिस गर्यो होला । मैले बुझे अनुसार महानगरपालिकाले कुनै अनुमति दिएको छैन्’ उनले भने,‘वडाले स्काभेटर चलाउने अनुमति दिनै मिल्दैन् । महानगरको अनुमति चाहिन्छ ।’ प्रवक्ता तिम्सीनाले महानगरपालिकाले नदिएका बताइरहँदा २०७९ फागुन २ गते महानगरले अनुमति दिएको देखिएको छ । अधिकृत आठौं तहका कृष्ण प्रसाद तिवारीले हस्ताक्षर गरेको पत्रले अनुमति दिएको छ । महानगरपालिकाले व्यवासयीमाथि नै लात हान्ने गरी काम गर्दा व्यवसायी मर्कामा परेका छन् । महानगरपालिकाकै अनुमतिमा उक्त काम गरेका वाईयुके कन्ट्रक्सनका संचालक युवराज खतिवडा महानगरको दोहोर खेलका कारण यतिबेला समस्यामा परेका छन् ।
महानगरकै अनुमति देखेपछि मैले काम थाले ः खतिवडा
उता व्यवसायी युवराज खतिवडाले भने आफुले महानगरपालिकाको अनुमति पत्र अनुसार नै काम गरेको बताए । समाजसेवी समेत रहेका खतिवडाले नियम अनुसार नै जाँदा समेत आफुलाई महानगरले ठगेको बताए । ‘सबै प्रक्रिया पुगेको छ । कानुन अनुसार नै अघि बढेको छ । आवास क्षेत्र पुर्नलाई जग्गा धनीले अनुमति लिनुपर्ने बाध्यता रहेछ’ उनले भने,‘ जग्गाधनीले सबै प्रक्रिया लिएर आएपछि मैले काम अघि बढाए । मैले कर पनि तिरेको छु मेरो व्यवसायको । मेरो गल्ति भएको भए मलाई जे सजाय दिए पनि म भोग्न तयार छु तर मेरो गल्ति छैन भने मेरो सवारी साधान किन लगियो । महानगरले के गर्न खोजेको हो मैले बुझ्न सकेको छैन् यो न त सिमसार हो न त फेवाको मापदण्ड ।’