News Portal

रवि लामिछानेलाई काठमाडौं लैजाने तयारी

साथीन्यूज संवाददाता
३७ पटक

पोखरा, मंसिर ११ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं लैजाने तयारी गरिएको छ ।

अनुसन्धानका लागि ४० दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले मंसिर २ गते जारी गरेको पक्राउ पुर्जीको आधारमा पोखराबाट काठमाडौं लैजान लागेको हो। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा उनको बयानका लिइनेछ ।

काठमाडौँ लैजाने वारे कास्की प्रहरीले भने पुष्टि गरेको छैन । लैजाने क्रममा रास्वपाका कार्यकर्ताको विरोध प्रदर्शन गर्नसक्ने र शान्ति सुरक्षालाई ध्यानमा राख्दै लामिछानेलाई काठमाडौँ लैजाने वारे प्रहरीले सूचना गोप्य राखेको छ ।

उनलाई यसअघि सुप्रिम सहकारीको बचत अपचलनबारे बयानका लागि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो । काठमाडौंमा बयान सकिएपछि उनलाई फेरि कास्की नै फिर्ता गरिने छ । लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारीभएकाले त्यसपछि उनलाई बयानका लागि चितवन लगिने सम्भावना छ ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।

प्रतिकृया दिनुहोस्