बुधबार विहान फिर्के खोलामा मापदण्ड विपरित ग्याबिन भर्ने काम भएको भन्दै महानगरमा उजुरी प¥यो । फोन मार्फत एक व्यक्तिले सूचना दिएपछि विहान ११ बजे महानगरको प्रहरीको टोली उक्त स्थानमा पुग्यो ।
त्यहाँ धमाधम ग्याविन भर्ने काम चलिरहेको थियो । महानगर प्रहरीले उक्त स्थानमा व्यक्तिले ग्याविन भर्न नपाउने र फिर्के मापदण्ड भित्र कुनै गतिविधि गर्न नपाउने भन्दै चलिरहेको काम रोक्न लगायो ।
पोखरा १८ तर्फ भने फिर्केको भागमा पोखराका व्यापारी अशोक पालिखेले खोलमै ग्याविन भर्ने काम गरिरहेका थिए । करिब ८÷१० जना कामदारले धमाधम ग्याविन भरिरहेका थिए । खोलाको बग्ने भागमा नै ढु󠇆ङ्गा राखी ग्याविन भरिएको थियो ।
महानगर प्रहरीले रोकेपछि काम बन्दभएपनि प्रहरी त्यहाँबाट हिडेपछि भने पुनः काम सूचारु भएको थियो । महानगरका एक कर्मचारी स्रोतले पोखरामा ठूला र धनाढ्य व्यक्तिहरुलाई रोक्ने सामथ्र्य नरहेको सुनाए ।
‘फिर्के अतिक्रमण हिजो देखी भइरहेको छ । तर रोक्ने कस्ले । हामीले सक्दैनौ यहाँ त ठूलावडा र हुनेवालाको मात्रै चल्छ’ स्रोतले भने,‘यदि महानगरले फिर्के प्रति चासो देखाएको भए त केहि नीति नियम बनाउथ्यो होला नि तर त्यसो हुँदैन् ।’
एक नगर प्रहरीले भने विहान एक चरण रोक्नका लागि पुगेको बताए । उनले विहान रोकेपनि अटेरी गर्दै पुनः काम गरिरहेको र केहि निमार्ण सामान उठाएर ल्याएको बताए ।
पुरुषोत्तम थापाले आफुहरु गएरै रोकेको बताए । उनले अशोक पालिखेले मापदण्ड मिचेर फिर्केखोलाबार्ट तारजाली लगाउने काम गरेको बताए ।
‘हामीले विहान गएर रोकेका हौं । अशोक पालिखेले फिर्के खोलालाई नै मापदण्ड मिचेर तारजाली लगाउँदै हुनुहुदो रहेछ’ उनले भने, ‘अनि हामीले जानकारी प्राप्त हुनेवित्तिकै नगर प्रहरी पुगेर रोकेका हौं । फेरीपनि काम गरिहेको छ भन्ने जानकारी पाएपछि पुनः नगरप्रहरी त्यहाँ पुगेको छ ।
दोस्रो पटक समेत बन्द गर्न पुगेका नगर प्रहरी कुलप्रसाद भट्टराईले अटेरी गर्दै पुनः काम गरेको बताए । ‘विहान आएर हामीले नै रोकेका हौं । यहाँ तारजाली भर्ने साहुले नै म काम बन्द गरिदिन्छु भन्दै भन्नुभयो ।
फेरी सुरु गर्नुभएको रहेछ’ उनले भने,‘हामीले आवश्यक कागजात लिएर आउनु भनेका थियौं । तर अटेरी गरेको देखियो ।’ पालिखेले गोप्य रुपले का मगर्दै आइरहेका थिए ।
कसैलेपनि थाहा नपाउने गरी उनले काम गरेका छन् । नागरिक समाजका रामबहादुर पौडेलले गलत काम भइरहेको बताए । उनले फिर्के अतिक्रण तिव्र रुपले बढको बताउँदै यसलाई रोक्न महानगर, प्रशासन र अख्तियारमा पटकपटक निवेद समेत दिएको सुनाए ।
उनका अनुसार मेयर धनराज आचार्यले फिर्के अतिक्रमण जोकोहिले गरेपनि कारवाहि गर्ने बताएका थिए । आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ ।
फिर्के अतिक्रमण प्रति राज्य निरीह देखिएको छ, फिर्के अतिक्रमण नरोकिने हो भने फिर्केखोला नै लोप हुने खतरा देखिन्छ । यस्को लागि स्थानीय स्तरबाटै कार्वाही गर्नुपर्ने भएपनि महानगर भने मौन देखिएको छ ।
आफ्नो जग्गाको संरक्षण गर्ने नाममा भूमाफियाले खोला अतिक्रमण गरि खोलाको बिच भागबाटै तटबन्ध लगाउने काम भएको देखिन्छ । सोही शिलशिलामा यतिबेला अशोक पालिखे पनि छन् ।
अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचना बनेका छन् । फिर्केमा बनेका संरचनामा सरकारी एव गैह्रसरकारी संघ संस्था देखि नामि व्यक्ति समेत छन् ।
उक्त क्षेत्रमा १ सय ९२ बढी घरटहरा मापदण्ड विपरीत रहेको नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए । सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र ११ समाज घर र तथा संघसंस्था रहेका छन । यस भित्र कतिपय संचना महानगरपालिकाको अनुमति लिएरै निर्माण गरिएका छन् ।
महानगरले २०७४ चैत्र २ गते फिर्के खोला रेखांकनको काम अघि बढाएको थियो । महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा बनेको समितिले रेखांकनपछि प्रतिवेदन बुझाएर त्यसमाथि छलफल समेत भएको थियो । त्यसपछि भने फिर्के सम्बन्धि कुनै काम अघि बढ्न सकेको थिएन ।
निवेदन नदिनु मेरो गल्ति हो ः पालिखे
उता पालिखेले भने महानगरको प्रहरी विहान नभई दुई तिन बजेको समयमा आएको बताए । उनले आफ्नो जग्गा जोगाउनका लागि ग्याविन भर्ने काम गरेको बताए ।
‘मैले निवेदन संगै राखेको छु । बिचमा बढी सरकारी विदा भयो । अनुमति नलिनु मेरो गल्ति हो’ उनले भने,‘तर मैले मेरो जग्गा जोगाउनका लागि यो गरेको हुँ ।’
उनको यो कुराले पनि उनले गुपचुप तरिकाले नै काम अघि बढाएको स्पष्ट हुन्छ । उनले महानगरले थाहापाएपछि मात्रै आफुले गल्ति गरेको स्विकार गरेका छन् ।
यस अघि भने उनले धमाधम खाल्डो खनि ग्याविन भर्ने काम गरेका थिए । उनले एक हप्तादेखी काम सुरु गरेका हुन् । एक हप्तासम्म समेत उनले कुनै अनुमति नलिनुले अतिक्रमण गर्न लागेको स्पष्ट देखिएको छ ।
अतिक्रमण रोख्न अख्तियारमा उजुरी
२०७८ चैत १६ गते फर्के खोला अतिक्रमण गरेर संरचना निर्माण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको थियो । पोखराको बीच भागबाट बग्ने फिर्के खोला आसपासका जग्गाधनीले आफूखुसी संरचना निर्माण गरेको भन्दै उजुरी परेको थियो ।
पोखराको वडा नम्बर १८ अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ६ ८, ७, ६ हुँदै वडा नम्बर १७ मा पुगी फेवातालमा समाहित हुने फिर्के खोला चरम अतिक्रमणको चपेटामा छ ।
पोखराको बीच भागबाट बग्ने फिर्के र बुलौंदी खोला मानवीय अतिक्रमणको चपेटामा परेका छन् । करिब ८ किलोमिटर लामो फिर्के खोला ठाउँ अनुसार ४ देखि २४ मिटरसम्म फराकिलो छ ।
खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण देखिएको छ । फिर्के किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । मापदण्ड १० मिटर भए पनि अनुगमन नहुँदा अतिक्रमण रोकिएको छैन ।