दशैं नजिकिएसँगै गण्डकी प्रदेश बजार अनुगमन समितिले चाडपर्ब लक्षित अनुगमनलाई तिव्रता दिएको छ । चाडवाडको समयमा मूल्यवृद्धि हुनसक्ने भन्दै समितिले उपभोग्य वस्तुहरुको अनुगमनलाई तिव्रता दिएको हो ।
गण्डकी प्रदेश बजार अनुगमन समितिले दशैंकालागि पोखरामा ल्याइएका भेडा च्याङ्ग्रासँगै खसीबोकाको अनुगमन गरेको छ । पोखराको याम्दी, हेम्जा र खसीबजारमा रहेका जिउदा पशुचौपायाको अनुगमन गरेको छ ।
चाडपर्वमा बजारमा मासुको अधिक खपत हुने भएकाले मूल्यमा कालो बजारी हुन नदिन र उपभोक्तालाई स्वस्थलाई मध्यनजर गर्दै अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय पोखराका प्रमुख गोकुल शर्मा पौडेलले जानककारी दिनुभयो । उहाँले हिमालपारीका जिल्ला लगायत अन्य जिल्लाबाट पोखरामा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य कोरोना महामारीले गर्दा गत वर्षको तुलनामा केही बढेको भन्दै उपभोक्ताले हल्लाको पछि नलागि बुझेर मात्रै खरिद गर्न आग्रह गर्नुभयो ।
विक्रीकालागि पोखराका विभिन्न स्थानमा राखिएका भेडाच्याङ्ग्राहरु हेल्दी र निरोगी तथा तन्दुरुस्त भएको अनुगमनमा सहभागी भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र कास्की प्रमुख डा। शोभा शर्माले जानकारी दिनुभयो ।
उपाभोक्ता सघं गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै अनुगमन गरिएको बताउनुभयो । उहाँले पोखरामा ल्याइएका भेडाच्याङ्ग्रा मध्ये केही पोथी भेडाच्याङ्ग्रा पनि भएका कारण चिनेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा व्यापारीहरुले हिमाली भेगबाट झारिएका भेडाच्याङ्ग्रको मूल्य २२ हजारदेखि ३७ हजारसम्म मूल्य पर्ने बताएका थिए ।
अनुगमन टोलीमा बजार अनुगमन समितिका सदस्य सचिव भरतराज बराल, अर्जुन भण्डारी, नापतौल कार्यालय कास्कीका निरिक्षक रघुनाथ पौडेल, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बराल र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत इन्दै पौडेलको सहभागिता रहेको थियो ।भिडीयो सहीत