पोखरा।
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत कास्कीले उनलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले सो आदेश दिएको हो ।
जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको थियो । दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराईएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।