पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो ।
लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एमलेको सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्कको उद्घाटन सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लवहरुले झण्डै ७० लाख रुपैयाँ खचिएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखराको विकासका लागि सहकार्य गर्न सबै संघसंस्थालाई आह्वान गरे । सरकार महानगर एक्लैको प्रयासले मात्र विकास सम्भव नभएको भन्दै झण्डा पार्क निर्माणमा लायन्स क्लव अन्तर्राष्ट्रियले सहयोग गरेजस्तै यहाँको संघ संथाहरुले पर्यटकीय एवं पूर्वाधार विकासमा समेत हातमालो गर्न आह्वान समेत गरे ।
मेयर आचार्यले झण्डा पार्कसंगै व्यवस्थित पार्क, सौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिसेप्ले लगायतका संरचना संगैरहने जानकारी दिए । उनले सहकार्यका लागि लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एम प्रति आभार प्रकट गरे ।
झण्डा पार्कले विश्वबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने मेयर आचार्यले अथ्र्याए । जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुने भन्दै जोसुकैले पनि झण्डापार्कको अपनत्व महसुस गरेर आफ्नो राष्ट्रको स्मरण गर्ने उनको भनाई छ ।