News Portal

गाउँलेले बाँधेर लडाए पछि विद्युत प्रशारण लाइनमा झुण्डिए : दिनभर तनाब : एक करोडको क्षति

साथीन्यूज
१७८ पटक

शनिबार दिनभर करीब नौ घन्टासम्म नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा झुन्डिएर तनाब दिएका बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षका माइला विकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ।

शनिवार विहान ९ बजेबाट विद्युत प्रशारण लाइनको पोलमा चढेर तारमा झुण्डिएका बिकलाई दिन्भार प्रहरीले बिभिन्न प्रलोभनहरु देखायो। तर उनी तल झर्न मानेनन्। प्रहरीले “मासु-भात खान दिने” लोभ देखायो। तर उनी कसै गरे तारबाट तल झरेनन।

उनलाई त्यस बिजुलीको तारबाट तल झार्न ठुलो मात्रामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई पठाइयो। उनी कुनै हालतमा तल झर्न मानेनन्। बिजुलीको पोलबाट तारमा चढ्न थालेपछि स्थानीयको सूचनाका आधारमा विद्युत प्राधिकरणले सो क्षेत्रमा विद्युतको लाइन काटेको थियो ।

बिजुलीको तारमा मान्छे झुण्डिएकाकारण बिद्युत लाइन अवरुद्ध थियो। बिद्युत लाइन अवरुद्ध हुँदा राज्यलाई मिनेट मिनेटको हिसाबमा लाखौँ रुपियाँ घाटा थियो। साँझपख शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले उक्त मान्छेलाई उद्धार गरिदिन नेपाली सेनालाई आग्रह गरिन्।

मन्त्रीको आग्रहमा हेलिकप्टरसहित गएको नेपाली सेनाको उद्धार टोलीले बिद्युत लाइनको तारमा झुण्डिएका माइला बिकलाई तारबाट तल झारेर उपचारका लागि काठमाण्डौ लगेको छ। विकलाई राहत र उद्धारको काम गर्दै आएको काठमाडौंको तार्केश्वरमा अवस्थित ‘नवजिवन’ संस्थाको संरक्षणमा राख्न लागिएको छ ।

स्थानीयहरुका अनुसार मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले बेवास्ता गर्दै आएका थिए। उनी उक्त बिजुलीको पोलमा चढ्नु अघि उनलाई स्थानीय बासिन्दाले बिजुलीको पोलमा चढेर सोलार प्यानल चोरेको भन्दै खुट्टामा डोरीले बाँधेर लदाएका थिए । त्यसपछि प्रहरीलाई बुझाउन खोज्दा मानसिक सन्तुलन गुमेका मानिसलाई पक्राउ गर्न नमिल्ने भन्दै प्रहरीहरु फर्किएका थिए।

यसैबीच नेपाल बिद्युत प्राधिकरणले त्रिशुली थ्री ए प्रशारण लाइनको तारमा मानिस चढे पछि बिद्युत लाइन काटिएको र करीब नौ घन्टासम्म बिद्युत लाइन काट्दा झन्डै एक करोड रुपियाँ नोक्सान भएको जिकिर गरेको छ।

मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो।

बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म उत्पादन बन्द हुँदा प्राधिकरणको एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्