पोखराको सेती नदीमा धादिङकी एक युवती हामफालेर बेपत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन अगस्ती बुधबार दिउसो १२ः४१ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी नदीपुर र फूलबारी जोड्न बनाइएको पूरानो पुलको बीचबाट हामफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हामफाल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।
परिवारजनका अनुसार उनी पोखराको पृथ्वीनारायण क्याम्पसको दिवासत्रमा अध्ययनरत थिइन् । सदाझैं बुधबार पनि ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्याएर फर्किएका थिए । उनको कितावसहितको झोला कक्षा कोठामै छ ।
बुबा युगमराजले क्याम्पस छोडेको करिब एक घण्टामा नै कञ्चन नदीपुरस्थित पुलमा आइपुग्नुले उनले पूरै तयारी नै गरेर यस्तो गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यु टिम, आफन्तजन र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भए पनि फेला परेको छैन । खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ ।
लामो समयदेखि पोखरामा बस्दै आएका कञ्चनको परिवार फेन्सी व्यवसायमा संलग्न छन् । उनी छोरीमा घरकी एक्ली हुन् भने उनका एक भाइ छन् । उनका बुबा युगमराज समाज सेवामासमेत सक्रिय छन् । परिवारजनका अनुसार कञ्चन केही वर्षदेखि बिरामी थिइन् ।भिडियो सहीत