पर्वतको मोदीमा गाउपालिकामा गठबन्धनको पक्षमा जनलहर देखिएको छ । आज (आइतवार) मोदीको तिलाहारको गिज्यान, ठाना, डिमुवा, तिलाहार लगायतका ठाउँमा चुनावी सभा अन्तर्गत कोणसभा र घरदैलो कार्यक्रम गरिएको छ ।
उक्त चुनावी सभा कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिले देशले दुख पाएको दावी गरेका छन् । लोकतन्त्र र संविधान जोगाउन गठबन्धन बनाएको बताउदै उनले गठबन्धनलाई अझ बलियो बनाएर जाने बताएका छन् ।
ओलीको सरकारले देशलाई भ्रष्टाचार, कुशासन र ज्यादती मात्रै दिएकाले त्यसलाई अब गठबन्धनले फेर्ने उनको तर्क छ । मोदीमा सक्षम उम्मेदवार उठाएको सबै उम्मेदवारले जित्ने उनले दावी पनि गर्दै उनले जनताको पक्षमा काम गर्ने र सुशासन र विकास दिने विश्वास दिलाए ।
यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार गुप्त हमालले मोदीलाई फेर्न चुनावी मैदानमा आफू आएको बताएका छन् । उनले भने, ‘मेरो पहिलो जिम्मेवारी भ्रष्टाचार नियन्त्रण हो, सुशासन हो, पूर्वाधार विकास हो र सम्पूर्ण तागत लगाएर मोदीको विकास गर्छु।’ अब मोदी बासीले त्यहाँ नयाँ तरिकाको विकास देख्न् हमालले विश्वास दिलाए । अर्का उपाध्यक्षका उउम्मेदवार रामबहादुर प्रसाईंले आफूहरुसँग विकासको, समृद्धिको सपना भएको बताए । ।आफूहरुको ६७ बुँदे प्रतिवद्धता हरहालतमा पूरा गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
यसैबीच माओवादीका नेता मनहरि तिमिल्सिनाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाएको बताएका छन् । उनले भने, ‘देशलाई अँध्यारो सुरूङभित्र धकेल्ने प्रवृत्तिका विरूद्ध हामी एक ठाउँ छौं, हामीले जितेमा स्मार्ट गाउँपालिका बनाउँछौं, त्यो भिजन, योजना, इच्छाशक्ति र पहुँच हामीसँग छ।’
मोदीका योजना पूरा गर्न सक्रिय रहने उनको अडान छ । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु विश्व प्रसाईं, मीना केसी, माओवादीका नेता गुणाखर बस्याल, माओवादी प्रदेश समिति सदस्य मनरूपा सुवेदी, गंगा तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो । आजको उक्त कार्यक्रममा एमालेबाट ३० एमाले कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका छन् ।