अन्तत: आसन्न स्थानीय तहको चुनाबमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीक नेता धनराज आचार्यले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारसँग पोखरा महानगरपालिकाको मेयर पदका लागि प्रतिष्पर्धा गर्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भए पछि सो पार्टीका नेता आचार्य पोखरा महानगरपालिकाको मेयरमा उठ्ने सुनिस्चित भएको हो।
लामो छिनाझपटी र रस्साकस्सीका बीच एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न पाउने भएको हो। सातारुध गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस कास्कीका नेता तथा कार्यकर्ताहरुले एकीकृत समाजवादीलाई नदिन विभिन्न प्रपन्चहरु गरेका थिए।
सत्तारुढ गठबन्धनमा ठुलो दल र पोखरा महानगरपालिकामा धेरै मतदाता रहेको नेपाली कांग्रेसका नेताहरुले जिल्ला स्तरमा गठबन्धनको बैठक चलिरहेला बेला एकीकृत समाजवादीसंग गठबन्धन तोडिएको प्रेस बिज्ञप्ति निकालेका थिए भने पटक पटक डेलिगेशन गएर प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउबालाई पोखराको मेयर पद नछाड्न चेतावनी दिएका थिए।
पोखरा महानगरपालिकाको मेयर पद नछाड्न आफ्ना नेता तथा कार्यकर्ताहरुको दबाब परेपछि देउबाले आज नेपाली कांग्रेसका गण्डकी प्रदेश समितिका अध्यक्ष शुक्रराज शर्मा, कास्की जिल्ला समितिका सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई काठमाण्डौ बोलाएका थिए। आफुलाई भेट्न काठमाण्डौ पुगेका नेताहरुलाई देउबाले गठबन्धनको पक्षमा लाग्न निर्देशन दिएर पोखरा पठाएका थिए। अद्यापि पोखराबाट गएका नेताहरुले प्रम देउबासनग पोखरा महानगरपालिकाको मेयर पद अरु पार्टीलाई नदिन सुझाब दिएका थिए।
आजै भएको सत्तारुढ गठबन्धनको बैठकले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व नेपाली कांग्रेसलाई दिने र बाँकी रहेका दुई मध्ये वीरगञ्ज महानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टीलाई र भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रलाई दिने सहमति गरेको छ।