News Portal

पोखरामा १७ औं फेवा नवबर्ष महोत्सव भोलिदेखि सुरु ,यस्तो छ तयारी

साथीन्यूज
४०८ पटक

१७ औं संस्करणको फेवा नवबर्ष महोत्सव बुधबारदेखि आयोजना हुँदै छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित होटल संघ पोखराको आयोजनामा हुने महोत्वसको सम्पूर्ण तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुबेदीले कोभिडका कारण दुई बर्ष सम्म महोत्सव स्थगन भएकाले नयाँपन दिने उद्देश्यसहित लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकको करिब ३ किलोमिटर खुल्ला सडकमा पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

संघका पूर्व अध्यक्ष विकल तुलाचनले पछिल्लो पटक पोखराको पर्यटन क्षेत्रमा आशाका किरण देखापरेको उल्लेख गर्दै शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले थप टेवा पु¥याउने बताए । उनले आन्तरिक तथा भारतीय पर्यटकहरुको संख्यामा वृद्धि भएको र २५ प्रतिशत होटल अकुपेन्सी रहेको समेत जानकारी दिए ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँबर्ष निकै धुमधामका साथ मनाउने गरिएकोमा पछिल्लो समय भने नेपाली नयाँबर्ष पनि उत्तिकै हर्षोल्लासका साथ मनाउने संस्कृतिको विकास हुँदै गइरहेको छ । महोत्सव बिहीबार सम्म आयोजना हुने छ । महोत्सवका लागि ५० प्रतिशत होटलहरु बुकिङ्ग भइसकेको संघले जनाएको छ । पोखरामा १ हजार २ सय भन्दा बढी होटल रहेका छन् भने ४० हजार कोठा रहेका छन् ।

महोत्सवका अवसरमा होटलहरुले ३० प्रतिशत छुटको व्यवस्था गरेको संघका महासचिव एवं प्रचारप्रसार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा अन्नपूर्ण केबलकार प्रा.लि. र गोर्खा ब्रुअरी प्रा.लि. रहेका छन् । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
महोत्सवमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्धारा पप कन्र्सटका साथै लोकदोहोरी, हास्यव्यङ्गय तथा नृत्य प्रतियोगिता मुख्य आकर्षकका रुपमा रहेको प्रचारप्रसार संयोजक ढकालले बताए ।

 

प्रतिकृया दिनुहोस्