News Portal

नेकपा माओवादी केन्द्र गण्डकीले चार महिनापछि पायो पूर्णता

साथीन्यूज
३७५ पटक

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले पूर्णता पाएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले अधिवेशन भएको झण्डै चार महिनापछि पूर्णता पाएको हो । गत मंसिर २७ गते सम्पन्न अधिवेशनले कास्कीकी गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारी चयन गर्न सकेको थिएन । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रक्रियामार्फत भएपनि पदाधिकारी चयन गर्न निर्देशन दिएपछि बुधबार बसेको बैठकले निर्वाचन मार्फत पदाधिकारी छान्ने निर्णय गरेको थियो । लगत्तै अपराह्नदेखि पदाधिकारी छान्न मतदान भएको थियो ।
राती अबेर सम्पन्न मतगणनामा तीन उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ गैह्रे (बागलुङ)लाई चयन गरेको छ । ६ जनाबीच भएको प्रतिष्पर्धामा शर्माले ९०, बस्यालले १२० र गैह्रेले ९३ मत प्राप्त गरे । उपाध्यक्षका अन्य प्रतिष्पर्धी गोर्खाका लोकप्रसाद बञ्जाराले ४८, कास्कीका गंगाप्रसाद पोखरेल ४६ र तनहुँकी गीता शाहीले ६६ मत प्राप्त गर्दै पराजित भए ।

त्यस्तै, एक एचिवमा जगन्नाथ खनाल (गोरखा) निर्वाचित भएका छन् । दुईजनाबीच भएको प्रतिष्पर्धामा खनाल विष्णु भट्ट (गोरखा)लाई नै २६ मतले पछि पार्दै बिजयी भए । खनालले एक सय मत प्राप्त गर्दा भट्टले ७४ मत प्राप्त गर्दै पराजित भए ।

त्यस्तै तीन सहसचिव पदका लागि भएको निर्वाचनमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका हुन् । तीन सहसचिवका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा भण्डारी १०४, न्यौपाने ११३ र विक १०८ मत ल्याउँदै बिजयी भएका हुन् । सहसचिवका अन्य प्रतिष्पर्धी कल्पना अर्याल (स्याङ्जा)ले ६६, राजकुमार दाहाल (कास्की)ले ५१ र कास्कीकै जीवन खातीले २३ मत प्राप्त गरे ।

एक कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा स्याङ्जाका तारा भुषाल निर्वाचित भएका छन् । निर्वाचित उनले ११० मत प्राप्त गरेर बिजयी हुँदा पराजित कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्