News Portal

पोखरामा आचार्यले मतान्तर बढाए : एमालेका गढ वडामा मतगणना शुरु : अब के होला ?

साथीन्यूज
४७४ पटक

पोखरामा विभिन्न तीन वटा अडियोहरु भाइरल भएर एमाले उम्मेदवार कृष्ण थापा बिरुद्ध पार्टीभित्रैबाट अन्तरघात भएको चर्चा चलिरहदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आफ्नो मतान्तर फराकिलो पार्दै गएका छन्।

मुख्य निर्बाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले अहिले बिहान ८.१५ बजे सार्वजनिक गरेको प्रारम्भिक मत गणना अनुसार, हालसम्म २० हजार छसय ६० मत गणना हुँदा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले एमाले उम्मेदवार कृष्ण थापालाई एक हजार दुईसय ८५ मतले पछाडी पारेका छन्।

अहिले एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले आठ हजार पांच सय ६३ मत ल्याएका छन् भने एमालेका कृष्ण थापाको सातहजार दुईसय ७८ मत आएको छ।  मेयर पदमा हलो चिन्ह भएका राप्रपाका उम्मेदवार शंकर खरालले एकहजार २७ र अटेरी अभियानका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलको पाँचसय २६ मत रहेको छ।

पार्टीको कपिलवस्तुमा सम्पन्न १२ औं पूर्ण बैठकको निर्णय विपरीत पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित स्वतन्त्र उम्मेदवार किसानसिंह गुरुङले १८ मत ल्याउदा सोही पार्टीबाट उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी सोममाया बिकले पांच मत पाएकी छिन।

गठबन्धनका तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले आठ हजार आठ सय ७६ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मन्जु देवी गुरुङको आठहजार दुईसय ७१ मत पाएकी छिन। राप्रपाकी उपमेयर पद्की उम्मेदवार रन्जु सेन पौडेलले भने आठसय ७२ मत ल्याएकी छिन।

यतिबेला पोखराको बजारमा बिभिन्न तीन वटा अडियो क्लिपहरु सार्वजनिक भएका छन्।  ती अडियो क्लिपमा एमालेभित्रकै एउटा समुहले एमाले उम्मेदवार कृष्ण थापालाई जसरी नि हराउने गरी बिभिन्न योजनाहरु अघि सार्वजनिक गरिएका छन्।  त्यति मात्र हैन एमाले उम्मेदवार कृष्ण थापालाई महा अपराधि भन्दै कुनै पनि हालतमा चुनाबमा हराउनु पर्ने कुरा अघि सारिएको छ।

 

हालसम्म मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरिएका छ वटा वडाहरु मध्ये पांच वटामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने एउटा मात्र वडा एमालेले जितेको छ।  नेपाली कांग्रेसले जितेका वडा नम्बर २, ३, ४, १२ र २३ नेपाली कांग्रेसका गढ मानिने गरिएको छ।  ती वडामा गरिएको गणनामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिनुलाई सामान्य मानिएको छ।

अहिले पोखरा महानगरपालिकाका वडा नम्बर ५, ६, १३, २४, २५, र २६  मा मतगणना जारी छ।  यी सबै वडामा बिगतमा एमालेले बिजय हासिल गर्दै आएको छ।  यी मध्ये अधिकांश वडा नेकपा एमालेको गढ मानिदै आएको छ।  यी वडामा पनि एमाले उम्मेदवार कृष्ण थापाले मतान्तर घटाउदै लगेर अग्रता नलिए उनको बिजय अनिश्चित हुने अड्कल गरिन थालिएको छ।

प्रतिकृया दिनुहोस्