
पोखरा, १३ ।
फोटो पत्रकार संघ कास्कीले ९८ औं फोटोपत्रकारिता स्थापना दिवस मनाएको छ । संघले दिवसको अवसरमा फोटोयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
संघले पोखरा महानगरपालिका १३ स्थित महाप्रभुधामको प्रबद्र्धन गर्ने उद्देश्यसहित आज फोटो यात्राको आयोजना गरेको हो ।
उक्त धाममा विक्रम संवत १९७२ सालमा विराट कोटिहोमकोसमेत आयोजना भएको इतिहास पाइन्छ ।
पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराललले महाप्रभुधाम नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल रहेकाले संरक्षणमा सबै एक भएर जुट्नु पर्ने बताए । उनले घामको गुरुयोजना बनाएर निर्माणको काम सुरु गरिएको जानकारी दिए ।
महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका उपाध्यक्ष नवराज बरालले धामको विकासका लागि सबैको साथ र सहयोगको खाचोँ रहेको बताए ।
महाप्रभुधाममा बालाचतुर्दशीका अवसरमा सदबीज छरिने चलन रहेको छ ।
आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहेको छ भने वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।
महाप्रभुधाम पुग्ने पर्यटकले पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनाका साथै ऐतिहासिक एवं धार्मिक पक्ष प्रत्यक्ष अवलोकन गर्न सक्छन् ।
यस्तै संघले दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ । संघका अध्यक्ष राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर वडानम्बर १३ का अध्यक्ष किरण बराल, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बराल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणी बराल, निवर्तमान अध्यक्ष दुर्गा पौडेलले फोटो पत्रकारिता दिवसको वारेमा बोलेका थिए ।