News Portal

पोखरा महानगरपालिका–१२ मा सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावकको निःशुल्क स्वास्थ्य बिमा

साथीन्यूज संवाददाता
६५ पटक

पाखरा ।

पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको छ । वडाले सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालु आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरेको हो । वडाध्यक्ष सन्तोष बास्तोलाले यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने बताए ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हामीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको बिमा गर्ने छौँ, उनले भने ।

पोखरा–१२ मा अमरसिँह माध्यमिक विद्यालय, शितलादेवी सामुदायिक विद्यालय र सरस्वती आधारभूत विद्यालय गरी तीन विद्यालय छन् । यी विद्यालयमा चार हजार तीन सय विद्यार्थी अध्ययन गर्दछन् ।

पारिवारिक बिमा कार्यक्रमबाट सामुदायिक विद्यालयप्रतिको आकर्षण वृद्धि गर्ने र वडावासीको स्वास्थ्यमा पहुँच समेत बढाउने अपेक्षा गरिएको वडाध्यक्ष वास्तोलाले बताए ।

प्रतिकृया दिनुहोस्