
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार हुने जनसभामा पोखराबाट ५ हजार जना सहभागि गराउने दाबी गरेको छ । महानगरको तर्फबाट पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितको टोलीलाई पोखरा २५ हेमजा मिलनचोकमा स्वागत सहित भेटघाट गर्ने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान) ले बताउनु भयो ।
पोखराको चिप्लेढुंगामा हुने उक्त कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न पोखराका ३३ वटै वडामा विभिन्न समितिहरु गठन गरी जिम्मेवार दिइएको पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो । जेठ ३ गते विस्तारित बैठक सहिद पार्कको घनश्याम स्मृति कक्ष, पोखरा–१७, सहिद चोकमा हालै सम्पन्न भएको महानगर समितिले जनाएको छ । बैठकले जनजागरण अभियानलाई भव्य बनाउन वडा नं. २५, हेमजा मिलनचोकमा अभियान टिमलाई स्वागत गर्ने निर्णय गरेको छ । यसैबिच, नेकपा माओबादी केन्द्र पोखरा महानगर सम्मेलन आगामी जेष्ठ २४ गते पोखरा सभागृहमा हुने भएको छ । जेठ २५ गते बन्द सत्र सहित छलफल हुने भएको सचिव जनकराज पराजुलीले बताउनु भयो ।
सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्ड प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। प्रतिनिधि छनोटका लागि प्रत्येक वडाबाट न्यूनतम ५ जना प्रतिनिधि र ३ जना पर्यवेक्षक, २० जना बराबर १ जना प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ। प्रतिनिधि छनोटमा पार्टी विधान २०८० को भाग ७, धारा ३२(२) बमोजिम भूगोल, जनजाति, युवा, अल्पसंख्यक, एक दलित र एक महिला अनिवार्य समावेश हुनुपर्ने प्रावधान राखिएको छ। हालसम्म ५ हजार ५ सय ८० पार्टी सदस्यहरूको नवीकरण भएको र सम्मेलनमा ५ सय ५० प्रतिनिधि र ९९ पर्यवेक्षक सहभागी हुने भएको समितिले जनाएको छ । महानगर समितिमा नयाँ सदस्य मनोनयनको निर्णय समेत गरेकोे छ ।
वडा सम्मेलनबाट निर्वतमान हुनु भएका मनोज रसाइली (वडा ११), गोविन्द घिमिरे (वडा १२), निर्मल आचार्य (वडा १६), शालिकराम देवकोटा (वडा १७), निर्मल वास्तोला (वडा १९), पूर्णदिप सिग्देल (वडा २१), नवराज बराल (वडा २२), पुरुषोत्तम सुवेदी (वडा २४), मेघराज भण्डारी (वडा २६), यज्ञ प्रसाद तिवारी (वडा २८), लालबहादुर सुनार (वडा २९) र कृष्ण प्रसाद तिमिल्सेना (वडा ३१) लाई महानगर समिति सदस्यमा मनोनयन गरिएको छ ।
सम्मेलन तयारीका लागि व्यवस्थापन, आर्थिक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन लेखन, निर्वाचन सहजीकरण, सम्मान सिफारिस र स्वयंसेवक परिचालन उपसमितिहरू गठन गरिएको छ । यी उपसमितिहरूमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी, विमला पहारी, जनकराज पराजुली, निर्मला सुवेदी, शिवजी लामिछाने, अनिल परियार लगायतका कमरेडहरूलाई संयोजकको जिम्मेवारी दिइएको समितिले जनाएको छ । प्रेस स्वतन्त्रताका सेनानी कोमलनाथ बरालले जनताको हितमा माओबादी केन्द्रले काम गर्न सुझाव दिनुभयो ।