News Portal

जलकुम्भी फाल्ने मेसिन थन्कियो, सशत्र प्रहरी र स्थानीय फेवाताल सफा गर्ने अभियानमा

साथीन्यूज संवाददाता
२१३ पटक

पोखरा ।

पोखराको फेवा ताल सफाइ अभियान सुरु गरिएको छ । जनप्रतिनिधि, अभियान्ता, नागरिक समाज, आमा समूह, जलारी समुदाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयको सहभागितामा फेवातालको जलकुम्भी सरसफाई अभियान शुभारम्भ गरिएको छ ।

पोखरा १८ खपौदी ढल्केबरबाट जलकुम्भी हटाउन सुरु गरिएको हो । फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियान यस वर्ष पनि वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ताल सफाइ अभियान सुरु गरिएको हो ।

अभियानको सशस्त्र प्रहरी बल कालिका गण, पोखराका प्रमुख सूर्य प्रसाद तिमिल्सिनाले शुरुवात गरे ।

पर्यटकको आकर्षण रहेको फेवाताल सफा राख्नुपर्ने तिमिल्सिनाको भनाई थियो । तालको संरक्षण तथा सरसफाई गर्नु सम्पुर्ण आम जनसमुदाय तथा सरोकारवाला निकायहरुको जिम्मेवारी रहेको उनले बताए ।

सामाजिक कार्यहरुमा सशस्त्र प्रहरीको सक्रिय सहभागिता रहदै आएको र आगामी दिनमा समेत जनतासंग मिलेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

वातावरण संरक्षणका लागि महाअभियान कास्किका संयोजक राम बहादुर पौडेलले जलकुम्भी हटाइ ताललाई सफा राख्न सरसफाई अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

ताल सरसफाई अभियानमा नागरिक स्तरबाट विभिन्न प्रयास भए पनि महानगरले भने दिर्धकालीन योजना ल्याउन सकेको छैन । महानगरले जलकुम्भी हटाउन मेसिन खरिद गरे पनि त्यसको प्रयोग हुन सकेको छैन ।

महानगरपालिका, एनजीओ, आइएनजीओ लगायत विभिन्न संघसंस्थाले जलकुम्भीका लागि भनेर बर्सेनी लाखौं रुपैयाँ खर्चिन्थे । स्वर्गीय रविन्द्र अधिकारी मार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको थियो ।

फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरि यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको थियो । तर, कराडको मेसिन थन्काएर सफाइ अभियानको नाममा महानगर उल्टोबाटो हिडिरहेको छ ।

प्रतिकृया दिनुहोस्