News Portal

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षः ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

साथीन्यूज संवाददाता
७४ पटक

पोखरा १२ जेठ ।
अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) आरोहणको ७५ वर्ष पुरा भएको छ । ७५ वर्ष पुरा भएको सन्दर्भमा यस वर्ष हिरक महोत्सव मनाइने भएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोह गरेको थियो । हर्जोगसगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागि भएका थिए ।

८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
महोत्सवमा फ्रान्सलगायतका युरोप–अमेरीका लगायत देशका १२ राजदुतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले बताए ।

अन्नपूर्ण गाउँपालिका वडानम्बर ४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गते सम्म पदयात्रा गरिने भएको छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तीहरुको सहभागिता हुने
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली पदयात्रामा सहभागि हुनेछ, आचार्यले भने ।

आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौड समेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ ।
यस्तै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकराण गरिएको छ । उक्त पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिकाले महोत्सवको संयुक्त आयोजना गरेका हुन् ।

आधार शिविरा विविध कार्यक्रम समेतको आयोनजा गरिने छ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भनिन्छ ।

आरोहण दिवस पहिलो पटक आधार शिविरमा मनाउन लागिएको हो ।

प्रतिकृया दिनुहोस्